झापा — लागूऔषध दुर्व्यसन विरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ भद्रपुर जुनियर जेसीज, वीरता जुनियर जेसीज र धुलाबारी जुनियर जेसीजको संयुक्त आयोजनामा कोरा साइक्लिङ अभियान सञ्चालन हुने भएको छ। अभियान आगामी असार १७ र १८ गते सञ्चालन गरिने छ, जसअन्तर्गत साइकल र्याली, वृक्षरोपण, शैक्षिक सामग्री तथा खाद्यान्न वितरणजस्ता बहुआयामिक कार्यक्रम समेटिएका छन्।

धुलाबारीस्थित पासाङ ल्हामू जेसीज प्रतिष्ठानमा असार ३ गते सम्पन्न संयुक्त बैठकमा वीरता जेसीज बिर्तामोडका अध्यक्ष अस्मित गोसाई, भद्रपुर जेसीजका अध्यक्ष सनम शाशंकर र धुलाबारी जेसीजका अध्यक्ष सृजित ढुंगानाको अध्यक्षतामा सो निर्णय गरिएको हो। वीरता जेसीज अध्यक्ष गोसाईका अनुसार “सामाजिक उत्तरदायित्वमा जुनियर जेसीज: लागूऔषध विरुद्ध साइकल र्याली र वृहत शैक्षिक सामग्री एवम् खाद्यान्न वितरण अभियान” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रमको पहिलो दिन काँकडभिट्टाबाट निन्दा सिरानसम्म लागूऔषधविरुद्धको साइकल र्याली निकालिनेछ, जसमा सहभागीहरू साइकल तथा सवारीसाधनमार्फत लागूऔषध विरोधी सन्देश बोकेर यात्रा गर्नेछन्। निन्दा सिरानबाट करिब दुई घण्टा ट्रेकिङ गरी स्थानीय प्राथमिक विद्यालय पुगेर त्यहाँ वृक्षरोपण गरिनेछ भने विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिने भद्रपुर जेसीज अध्यक्ष शाशंकरले जानकारी दिए। कार्यक्रमको दोस्रो दिन अति विपन्न समुदायलाई लक्षित गर्दै खाद्यान्न वितरण गरिनेछ।
धुलाबारी जेसीज अध्यक्ष ढुंगानाले अभियानको उद्देश्य युवालाई सकारात्मक र सिर्जनशील क्रियाकलापतर्फ उन्मुख गराउनुका साथै लागूऔषध दुर्व्यसनबाट जोगाउनु रहेको बताए। साथै समाजमा सहकार्य, सद्भाव र मानवीयताको सन्देश फैलाउने विश्वास समेत व्यक्त गरे। कार्यक्रमको अवसरमा Trek 8586 जस्ता पर्यटनसम्बन्धी संस्थाहरू, स्थानीय पालिकाका प्रमुख तथा युवाबीच संवाद, फेलोसिप क्याम्प, गाइडिङ र ट्रेकिङसम्बन्धी विशेष तालिमसमेत सञ्चालन गरिनेछ। सहभागीहरूले राति टेन्टमा वास गर्नेछन् र उनीहरूका लागि पर्यटन विज्ञहरूमार्फत स्थानीय पर्यटन प्रवर्द्धनबारे व्यावहारिक ज्ञान प्रदान गरिनेछ।
कार्यक्रम संयोजनमा वीरता जेसीजका सञ्चार संयोजक युनिस कार्की, भद्रपुर जेसीजका कानुनी सल्लाहकार प्रतिक लम्साल तथा धुलाबारी जेसीजका अतित गौतम रहेका छन्। आयोजकहरूका अनुसार यस अभियानले लागूऔषधविरुद्ध सशक्त सन्देश दिनुका साथै युवाहरूमा सामाजिक उत्तरदायित्वबोध, नेतृत्व क्षमता र स्थानीय पर्यटनप्रतिको अभिरुचिलाई पनि बढावा दिनेछ।
