भद्रपुर, झापा — झापाको प्रमुख व्यापारिक केन्द्र तथा सदरमुकाम भद्रपुरमा भुस्याहा कुकुरको बढ्दो आतङ्कले जनजीवन त्रासमय बनेको छ। रातको समयमा त सडकमा एक्लै हिँड्न समेत डर लाग्ने अवस्था सिर्जना भएको छ भने घरपालुवा पशुचौपायामा आक्रमण बढेसँगै कृषकहरू ठूलो क्षतिको सामना गरिरहेका छन्।

स्थानीयहरूका अनुसार नियन्त्रणबिहीन रूपमा बढिरहेका भुस्याहा र छाडा कुकुरहरू समूह बनाएर चोक–चोकमा बसेर मान्छे देख्नासाथ आक्रामक ढंगले झम्टिन थाल्ने गरेका छन्। यस्ता कुकुरले खसी, बाख्रा, कुखुरा जस्ता घरपालुवा जनावरलाई टोक्ने, मार्ने र खाने घटनाहरू दैनिकजसो भइरहेका छन्।
भद्रपुर–८, स्वर्ण टोलका कृषक मित्रप्रसाद अधिकारीले बारीमा बाँधेको बाख्रालाई भुस्याहा कुकुरले आक्रमण गरी गम्भीर घाइते बनाएको बताए। “बाख्रालाई मार्न लागेको बेला हामीले भेट्यौँ, पेट च्यातिसकेको थियो। उपचार गरेपछि बल्लबल्ल ज्यान जोगियो,” अधिकारीले भने। उनका अनुसार हालसम्म गाउँमा सातदेखि आठवटा खसी–बाख्रा कुकुरको आक्रमणमा परेर मरेका छन्।
यो समस्या केवल स्वर्ण टोलमा मात्र सीमित छैन। कनकश्री टोल, पारिजात टोल, सुकीर्ति टोललगायतका क्षेत्रमा पनि कुकुरको आतंक उस्तै रहेको छ। “धेरैले कुकुर त पाल्छन्, तर जिम्मेवारीपूर्वक हेरचाह गर्दैनन्,” सुकीर्ति टोलका एक पीडितले भने, “छाडा कुकुरले पशु मात्र होइन, मान्छेलाई पनि टोक्न थालेपछि रेबिजको सुई लगाउनु पर्ने बाध्यता बढेको छ।”
स्थानीय बासिन्दाहरू भन्छन्— यदि यथाशीघ्र नियन्त्रण र व्यवस्थापन गरिएन भने कुकुरको आक्रमणका कारण मानवीय क्षति र सडक दुर्घटनाको जोखिम समेत बढ्नेछ। रातको समयमा पैदल, साइकल वा मोटरसाइकलमा यात्रा गर्न सकिने अवस्था नरहेको उनीहरूको भनाइ छ।
नगर प्रमुखलाई समेत समस्याबारे जानकारी गराइसकेका अधिकारीले आग्रह गरे— “भुस्याहा कुकुर नियन्त्रणका लागि नगरपालिका तुरुन्तै जिम्मेवार बन्नुपर्छ, नत्र जनधनमा थप क्षति हुनसक्छ।”
