भद्रपुर, झापा – असार ९
“सेवा नै सच्चा श्रद्धाञ्जली हो” भन्ने भावनासहित आज २०८२ असार ९ गते प्रादेशिक अस्पताल, भद्रपुर (मेची)को प्राङ्गणमा समाजसेवी सिवा परिवारको सहयोगमा पिउने पानीको धारा निर्माण गरी उद्घाटन गरिएको छ।

उक्त धारा अमेरिका निवासी श्री विकास सिवा र श्रीमती धना सिवाको आर्थिक सहयोगमा स्व. ससुरा नरबहादुर गुइदे तथा दिवंगत सुपुत्रहरू स्व. जेम्स सिवा र स्व. जेभियन सिवाको अमिट स्मृतिमा निर्माण गरिएको हो।
धाराको निर्माणमा सामाजिक अभियन्ता रोयल संजय र भावना क्षेत्रीको विशेष समन्वय र पहल रहँदै आएको थियो।
सो पिउने पानीको धाराको उद्घाटन कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की प्रमुख अतिथि रहनुहुँदै उद्घाटन गर्नु भएको थियो।
कार्यक्रममा प्रादेशिक अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ता, विभिन्न सामाजिक तथा राजनीतिक अगुवाहरू, अस्पतालका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सेवाग्राही र सर्वसाधारणहरूको उपस्थिति उल्लेखनीय थियो।
कार्यक्रमको अन्त्यमा, अस्पतालमा उपचार गराइरहेका बिरामीहरूप्रति सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै फलफूल वितरण समेत गरिएको थियो, जसले कार्यक्रममा सेवा, समर्पण र सहानुभूतिको गहिरो सन्देश थपेको छ।
सामाजिक अभियन्ता रोयल संजयले कार्यक्रममा भने, “दिवंगत आत्माहरूको सम्झनामा समाजसेवाको माध्यमबाट अमर बनाउने प्रयास हो यो।”उहाँले यस्ता सन्देशमूलक कार्यहरू समाजमा सकारात्मक ऊर्जा फैलाउने भन्दै आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सिवा परिवारको यो योगदानले प्यास मेटाउने मात्रै होइन, समर्पण र सद्भावनाको अमिट चिनोसमेत बनाएको छ। अस्पताल प्रशासनले उक्त सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता सहृदय सहयोगले अस्पतालको सेवा विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
