झापा — बिर्तामोडको न्यू स्टार फुटबल क्लबले दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप २०८२ को उपाधि जित्न सफल भएको छ। शनिबार शान्ति सामुदायिक वनको खेलमैदानमा सम्पन्न फाइनल खेलमा न्यू स्टारले मोरङको भाउन्ने युथ क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै उपाधि उचालेको हो।

खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए। भाउन्ने युथ क्लबका तर्फबाट दुवै गोल उमेश राईले गरेका थिए भने न्यू स्टारका लागि सौरभ सुब्बा र करण लिम्बुले एक–एक गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलको अन्त्यमा पेनाल्टी सुटआउटमा न्यू स्टार विजयी बन्दै प्रतियोगिताको उपाधि हात पार्न सफल भयो।
उपाधिसँगै न्यू स्टारले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता भाउन्ने क्लबले ५१ हजार रुपैयाँसहित ट्रफीमा चित्त बुझायो। खेलको म्यान अफ द म्याच न्यू स्टारका पेमा तामाङ घोषित भए, जसले नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू स्टारकै निमा तामाङ घोषित भए, जसले ट्रफीसँगै ५ हजार रुपैयाँ प्राप्त गरे। न्यू स्टारकै बिबेक मगर उत्कृष्ट गोलरक्षक, देवेन्द्र तामाङ उत्कृष्ट डिफेन्डर, बादल तामाङ उत्कृष्ट मिडफिल्डर र अङ्गु सुब्बा उत्कृष्ट प्रशिक्षक घोषित भए। भाउन्ने क्लबका आयुष राई उत्कृष्ट फरवार्ड तथा उमेश राई प्रतियोगिताका हाई स्कोरर घोषित भए। सबै विधागत विजेताहरूले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
जेठ १७ गतेदेखि सुरु भएको प्रतियोगिता जलथल फुटबल क्लबको आयोजनामा भएको थियो, जसको समापन शनिबार जेठ २४ गते भव्य रूपमा सम्पन्न भयो। समापन समारोहमा प्रमुख अतिथि पूर्व उपप्रधान तथा जलस्रोत तथा उर्जामन्त्री राजेन्द्रप्रसाद लिङदेनको उपस्थिति रहेको थियो। त्यस्तै, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर महेन्द्र, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा जलथल फुटबल क्लबका अध्यक्ष जयबहादुर राईले खेलमैदानको स्तरोन्नति गर्न स्थानीय सरकारसँग माग राखेका थिए। प्रमुख अतिथि लिङदेनले उक्त मागलाई सम्बोधन गर्दै आगामी बजेटमै शान्ति खेलमैदान स्तरोन्नतिको योजना समेट्न सुझाव दिए। शुभकामना मन्तव्य राख्दै हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले खेल विकासका लागि आवश्यक बजेट विनियोजन गरिने स्पष्ट प्रतिबद्धता जनाएका थिए।
