२०८२ आश्विन २५ शनिबार
२०८२ आश्विन २५ शनिबार

भद्रपुर, झापा – भद्रपुरस्थित होटल डे ग्लो मा मधेसी महिला समाज, भद्रपुरले आयोजना गरेको जितिया पर्व विशेष कार्यक्रम–२०८२ भव्य, गरिमामय र आत्मीय वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल प्रमुख अतिथि, नगर उपप्रमुख राधा कार्की विशिष्ट अतिथि तथा नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम घिमिरे ‘हिक्मत’ विशेष अतिथि हुनु भएको थियो। त्यसैगरी वरिष्ठ डा. पिताम्बर ठाकुर, नेकपा (एमाले) प्रतिनिधि डिल्ली पोख्रेल, नेपाली कांग्रेस प्रतिनिधि अनिता रिजाल, अन्य समाजसेवी तथा बुद्धिजीवीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

भद्रपुर नगरपालिकाका वडा अध्यक्षहरू—४ नं वडा अध्यक्ष हंशधर राजवंशी, ५ नं वडा अध्यक्ष बन्धु कार्की, ६ नं वडा अध्यक्ष रतिया राजवंशी र ८ नं वडा अध्यक्ष गौरव सुब्बा ‘मनोज’—अतिथिका रूपमा सहभागी हुनु भएको थियो। उहाँहरूले कार्यक्रमको माध्यमबाट पर्वले समुदायमा ल्याउने सामाजिक सद्भाव, संस्कृतिको संरक्षण र ऐक्यबद्धताको महत्व उजागर गर्नुभयो।

कार्यक्रमको स्वागत मन्तव्य समिती उपाध्यक्ष स्वर्णिका सिंहले प्रस्तुत गर्नुभएको थियो। प्रमुख तथा विशिष्ट अतिथिहरूका साथै समाजसेवीहरूले महिलाको आस्था, परम्परा र सांस्कृतिक निरन्तरतामा जितिया पर्वको भूमिका र महत्वबारे हृदयस्पर्शी शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

सांस्कृतिक प्रस्तुति, नृत्य–संगीत तथा जानकारीमूलक सत्रहरूले कार्यक्रमलाई जीवन्त बनाएको थियो। विशेष गरी मेची बहुमुखी क्याम्पसकी प्राध्यापक आभा देवले प्रस्तुत गर्नुभएको जितिया पर्वसम्बन्धी ऐतिहासिक र सांस्कृतिक विवेचनाले सहभागीहरूलाई गहिरो प्रभाव पार्‍यो।

यसै अवसरमा समाजसेवी रोयल संजय र भावना क्षेत्रीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

कार्यक्रमको सफल सञ्चालन समिती सचिव विभा पासवानले गर्नु भएको थियो भने समापन मन्तव्य समिती अध्यक्ष विभा ठाकुरले प्रस्तुत गर्नुभएको थियो।

झापा — सूचना प्रविधि क्षेत्रमा क्रियाशील युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले झापाको बिर्तामोडमा पहिलोपटक आयोजना गरिएको अन्तर्राष्ट्रिय ह्याकाथन ‘प्रोग्रामर्स अननोन ब्याटलग्राउन्ड’ (Programmers Unknown Battleground) सफलतापूर्वक सम्पन्न भएको छ। डेभलपर्स एसोसिएसन झापाको आयोजना तथा गोमेन्द्र मल्टिपल कलेजको मुख्य प्रायोजनमा सम्पन्न ४८ घण्टे यो कार्यक्रम साउन २९ देखि ३१ गतेसम्म सञ्चालन गरिएको थियो।

नेपालका विभिन्न सहरहरू र भारतको सिक्किमसहित १५ टोली सहभागी भएको ह्याकाथनमा उत्कृष्ट सिर्जनात्मकता प्रदर्शन गर्दै १० टोलीहरू अन्तिम चरणमा पुगेका थिए। अन्ततः भरतपुरबाट सहभागी ‘एरोमा ह्याकफोर्स’ (Aroma HackForce) विजेता घोषित भयो।

विजेता टोलीले सिमकार्ड वा इन्टरनेट नचलेका स्थानहरूमा वन्यजन्तु संरक्षण तथा फिल्ड अपरेसनलाई सहयोग गर्ने लोकेसन ट्र्याकिङ र सञ्चार उपकरण निर्माण गरेको थियो। लो–रा (LoRa) प्रविधिमा आधारित यस उपकरणले नेटवर्क नभएको ठाउँमा पनि टेक्स्ट मेसेज पठाउन सक्ने र आपतकालीन अवस्थामा सूचना आदान–प्रदान गर्न सक्ने क्षमता राख्दछ।

अन्य विधामा पनि प्रतिभाशाली टोलीहरूले उत्कृष्टता देखाएका थिए। सामाजिक प्रभाव (Social Impact) तथा टेलिमेडिसिन विधामा ‘नेपडेभ’ (NepDev), संस्कृति सशक्तीकरण (Empowering Culture) विधामा झापाको वीर अमर सिंह माध्यमिक विद्यालयको टोली ‘फ्लुइड’ (Fluid), ग्लोबल बिजनेस विधामा ‘नेलो’ (Nelo) र उत्कृष्ट आईओटी (Best IoT) विधामा ‘बबज’ (Babuzz) पुरस्कृत भए।

कार्यक्रमबारे जानकारी दिँदै आयोजक समिति सदस्य अविरल आचार्यले भने, “झापामा यति ठूलो प्रविधि–आधारित कार्यक्रम आयोजना गर्नु आफैंमा चुनौतीपूर्ण थियो। तर सबैको समर्पण र सहकार्यले हाम्रो सपना साकार भएको छ।”

उनका अनुसार विजेता ‘एरोमा ह्याकफोर्स’ र ‘फ्लुइड’ का सदस्यहरू हाल कक्षा १२ मा अध्ययनरत छन्, जसको प्रविधिप्रतिको लगाव र क्षमता प्रेरणादायी रहेको बताए।

कार्यक्रमलाई सफल बनाउन आयोजक समितिमा अविरल आचार्यसहित सोहन ढकाल, समीक्षा योङहाङ, सर्वेश अधिकारी, युगल निरौला, इशान पोखरेल, दीपक खनाल, विनायक कार्की, समिर निरौला, कौशल रिजाल आदिको सक्रिय भूमिका रहेको थियो।

यस ह्याकाथनमा गोमेन्द्र मल्टिपल कलेज मुख्य प्रायोजक थियो भने आरडी–वान स्टेप अहेड सह–प्रायोजक थिए। साथै एक्सेल डेभलपमेन्ट बैंक, प्रथम आईटी सिस्टम, क्वालिटी कम्प्युटरलगायत विभिन्न संघ–संस्थाहरूले सहयोग गरेका थिए। कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालय झापा, बिर्तामोड नगरपालिका र वडा नं. ४ ले पनि सहयोग गरेका थिए।

आयोजकहरूको विश्वासमा, यस्ता कार्यक्रमहरूले राजधानीमा सीमित प्रविधि क्षेत्रलाई विकेन्द्रीकरण गर्दै देशका विभिन्न भूभागमा नवप्रवर्तन र डिजिटल क्षमताको विकासमा टेवा पुर्‍याउनेछ।


भद्रपुर, झापा — ट्राफिक प्रहरी पोष्ट भद्रपुरको आयोजनामा भद्रपुरमा एकदिने ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरू तथा स्थानीय बासिन्दामा सडक सुरक्षा र ट्राफिक नियमसम्बन्धी सचेतना अभिवृद्धि गर्नु रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा प्रहरी नायब निरीक्षक रामचन्द्र दाहाल र प्रहरी सहायक निरीक्षक राजु राजवंशीले प्रशिक्षण दिएका थिए। उनीहरूले ट्राफिक नियमको पालना गर्नुपर्ने आवश्यकता, सडकमा सुरक्षित हिँड्नुपर्ने विधि, र नेपालमा हुने सडक दुर्घटनाका प्रमुख कारणबारे जानकारी गराए।

कार्यक्रममा मेची बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष प्रतीक साह रौनियारले कार्यक्रम सहायकको रूपमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

त्यसैगरी, चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाको उपस्थिति पनि उल्लेखनीय रह्यो। कार्यक्रममा एस.एस. निकेतन इङ्लिश स्कूलमोडर्न इङ्लिश स्कूलका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूलाई ट्राफिक नियमबारे व्यवहारिक ज्ञान र अनुशासित सडक व्यवहारबारे अवगत गराइएको थियो।

कार्यक्रमले सहभागीहरूमा सकारात्मक प्रभाव पारेको र यस्ता सचेतनामूलक गतिविधिहरू नियमित रूपमा आवश्यक रहेको सहभागीहरूले बताएका छन्।


झापा — लागूऔषध दुर्व्यसन विरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ भद्रपुर जुनियर जेसीज, वीरता जुनियर जेसीज र धुलाबारी जुनियर जेसीजको संयुक्त आयोजनामा कोरा साइक्लिङ अभियान सञ्चालन हुने भएको छ। अभियान आगामी असार १७ र १८ गते सञ्चालन गरिने छ, जसअन्तर्गत साइकल र्‍याली, वृक्षरोपण, शैक्षिक सामग्री तथा खाद्यान्न वितरणजस्ता बहुआयामिक कार्यक्रम समेटिएका छन्।

धुलाबारीस्थित पासाङ ल्हामू जेसीज प्रतिष्ठानमा असार ३ गते सम्पन्न संयुक्त बैठकमा वीरता जेसीज बिर्तामोडका अध्यक्ष अस्मित गोसाई, भद्रपुर जेसीजका अध्यक्ष सनम शाशंकर र धुलाबारी जेसीजका अध्यक्ष सृजित ढुंगानाको अध्यक्षतामा सो निर्णय गरिएको हो। वीरता जेसीज अध्यक्ष गोसाईका अनुसार “सामाजिक उत्तरदायित्वमा जुनियर जेसीज: लागूऔषध विरुद्ध साइकल र्‍याली र वृहत शैक्षिक सामग्री एवम् खाद्यान्न वितरण अभियान” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रमको पहिलो दिन काँकडभिट्टाबाट निन्दा सिरानसम्म लागूऔषधविरुद्धको साइकल र्‍याली निकालिनेछ, जसमा सहभागीहरू साइकल तथा सवारीसाधनमार्फत लागूऔषध विरोधी सन्देश बोकेर यात्रा गर्नेछन्। निन्दा सिरानबाट करिब दुई घण्टा ट्रेकिङ गरी स्थानीय प्राथमिक विद्यालय पुगेर त्यहाँ वृक्षरोपण गरिनेछ भने विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिने भद्रपुर जेसीज अध्यक्ष शाशंकरले जानकारी दिए। कार्यक्रमको दोस्रो दिन अति विपन्न समुदायलाई लक्षित गर्दै खाद्यान्न वितरण गरिनेछ।

धुलाबारी जेसीज अध्यक्ष ढुंगानाले अभियानको उद्देश्य युवालाई सकारात्मक र सिर्जनशील क्रियाकलापतर्फ उन्मुख गराउनुका साथै लागूऔषध दुर्व्यसनबाट जोगाउनु रहेको बताए। साथै समाजमा सहकार्य, सद्भाव र मानवीयताको सन्देश फैलाउने विश्वास समेत व्यक्त गरे। कार्यक्रमको अवसरमा Trek 8586 जस्ता पर्यटनसम्बन्धी संस्थाहरू, स्थानीय पालिकाका प्रमुख तथा युवाबीच संवाद, फेलोसिप क्याम्प, गाइडिङ र ट्रेकिङसम्बन्धी विशेष तालिमसमेत सञ्चालन गरिनेछ। सहभागीहरूले राति टेन्टमा वास गर्नेछन् र उनीहरूका लागि पर्यटन विज्ञहरूमार्फत स्थानीय पर्यटन प्रवर्द्धनबारे व्यावहारिक ज्ञान प्रदान गरिनेछ।

कार्यक्रम संयोजनमा वीरता जेसीजका सञ्चार संयोजक युनिस कार्की, भद्रपुर जेसीजका कानुनी सल्लाहकार प्रतिक लम्साल तथा धुलाबारी जेसीजका अतित गौतम रहेका छन्। आयोजकहरूका अनुसार यस अभियानले लागूऔषधविरुद्ध सशक्त सन्देश दिनुका साथै युवाहरूमा सामाजिक उत्तरदायित्वबोध, नेतृत्व क्षमता र स्थानीय पर्यटनप्रतिको अभिरुचिलाई पनि बढावा दिनेछ।

भद्रपुर, झापा – असार ९
“सेवा नै सच्चा श्रद्धाञ्जली हो” भन्ने भावनासहित आज २०८२ असार ९ गते प्रादेशिक अस्पताल, भद्रपुर (मेची)को प्राङ्गणमा समाजसेवी सिवा परिवारको सहयोगमा पिउने पानीको धारा निर्माण गरी उद्घाटन गरिएको छ।

उक्त धारा अमेरिका निवासी श्री विकास सिवा र श्रीमती धना सिवाको आर्थिक सहयोगमा स्व. ससुरा नरबहादुर गुइदे तथा दिवंगत सुपुत्रहरू स्व. जेम्स सिवा र स्व. जेभियन सिवाको अमिट स्मृतिमा निर्माण गरिएको हो।
धाराको निर्माणमा सामाजिक अभियन्ता रोयल संजय र भावना क्षेत्रीको विशेष समन्वय र पहल रहँदै आएको थियो।

सो पिउने पानीको धाराको उद्घाटन कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की प्रमुख अतिथि रहनुहुँदै उद्घाटन गर्नु भएको थियो।
कार्यक्रममा प्रादेशिक अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ता, विभिन्न सामाजिक तथा राजनीतिक अगुवाहरू, अस्पतालका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सेवाग्राही र सर्वसाधारणहरूको उपस्थिति उल्लेखनीय थियो।

कार्यक्रमको अन्त्यमा, अस्पतालमा उपचार गराइरहेका बिरामीहरूप्रति सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै फलफूल वितरण समेत गरिएको थियो, जसले कार्यक्रममा सेवा, समर्पण र सहानुभूतिको गहिरो सन्देश थपेको छ।

सामाजिक अभियन्ता रोयल संजयले कार्यक्रममा भने, “दिवंगत आत्माहरूको सम्झनामा समाजसेवाको माध्यमबाट अमर बनाउने प्रयास हो यो।”उहाँले यस्ता सन्देशमूलक कार्यहरू समाजमा सकारात्मक ऊर्जा फैलाउने भन्दै आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सिवा परिवारको यो योगदानले प्यास मेटाउने मात्रै होइन, समर्पण र सद्भावनाको अमिट चिनोसमेत बनाएको छ। अस्पताल प्रशासनले उक्त सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता सहृदय सहयोगले अस्पतालको सेवा विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

झापा, हल्दिबारी – असार ७
जीवन र मृत्युको दोसाँधमा रहेका हल्दिबारी–३, ढडुवा चोक निवासी विशाल परियारका लागि देश–विदेशबाट जुटेको सहयोगले आशाको उज्यालो थपेको छ। दुवै मृगौला फेल भई किष्ट मेडिकल कलेज, ललितपुरमा उपचाररत परियारको सहयोगार्थ प्रवासी नेपालीहरूको पहलमा संकलित रु ५९,८२० बराबरको आर्थिक सहयोग आज औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

उक्त सहयोग हल्दिबारी गाउँपालिका–३ का वडा अध्यक्ष श्री विष्णु ओलीको विशेष उपस्थितिमा उहाँकै हातबाट पीडित परिवारलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा अन्य वडाका जनप्रतिनिधिहरू, स्थानीय समाजसेवीहरू र शुभेच्छुकहरूको पनि उपस्थिति थियो।

सहयोग रकम विशेषगरी पोर्चुगलमा कर्मरत नेपालीहरूको पहलमा संकलन गरिएको हो।
यो मानवीय अभियानको संयोजन तथा अगुवाइ रिक बहादुर सापकोटाले गर्नु भएको थियो। उहाँसहित दसजना सहयोगी नेपालीहरूबाट संकलन भएको यो रकम संकटमा परेका परिवारको लागि अमूल्य सहारा बनेको छ।

सहयोग गर्ने दाताहरूको योगदान:

१. रिक बहादुर सापकोटा – £100
२. भिम बहादुर बन – £50
३. तुल्सीराम काफ्ले – £40
४. अर्जुन दाहाल – £31
५. युवराज शिवाकोटी – £31
६. मोहन आचार्य – £30
७. टोप प्रसाद गिरी – £35
८. गणेश गिरी – £20
९. सन्तोष भण्डारी – £25
१०. देवेन्द्र सापकोटा – £20

सहयोग हस्तान्तरणमा बोल्दै वडा अध्यक्ष विष्णु ओलीले भन्नुभयो, “संकटको बेला समाज एक भएर उठ्नु हाम्रो परम्परा हो। प्रवासमा रहँदै पनि गाउँ सम्झने दाताहरूलाई हार्दिक धन्यवाद। हामी यस्ता पीडित नागरिकको साथमा सदैव रहनेछौं।”

परिवारजनले सहयोगप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै अझै दीर्घकालीन उपचार खर्चका लागि सहयोगको आवश्यकता रहेको जनाएका छन्।
अभियानकर्ता र स्थानीय अगुवाहरूले पनि सबैमा आ–आफ्नो स्थानबाट सहयोगको हात फैलाइदिन हार्दिक अनुरोध गरेका छन्।

फोटो/जानकारी :- अभिषेक खतिवडा

झापा, असार ७ –
भद्रपुर नगरपालिका–१० मा बालबालिकाको सहभागिता, सशक्तिकरण र अधिकार प्रवर्द्धनका लागि बाल सञ्जाल गठन गरिएको छ। २०८२ साल असार ७ गते शनिबार सम्पन्न भेलाबाट नयाँ कार्यसमिति चयन गर्दै औपचारिक रूपमा सञ्जालको संरचना तयार गरिएको हो।

सञ्जालको अध्यक्षमा श्रेयम अधिकारी चयन हुनुभएको छ भने उपाध्यक्षमा लक्ष्मी गिरी, सचिवमा साक्षी नेपाल, सह–सचिवमा मनिष थापा र कोषाध्यक्षमा मानसी महतो चयन हुनुभएको छ। साथै, विभिन्न कार्यदायित्व सम्हाल्ने सदस्यहरूको समेत समावेश रहेको पूर्ण कार्यसमिति गठन गरिएको छ।

स्थानीय सरोकारवालाहरूले नवनिर्वाचित टोलीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूले सञ्जालले बालबालिकाका आवाजलाई नीति निर्माण तहसम्म पु¥याउन, बालमैत्री समाज निर्माणमा टेवा पुर्‍याउन र नेतृत्व विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

सञ्जालका नवअध्यक्ष श्रेयम अधिकारीले बालबालिकाको हक, अभिव्यक्ति स्वतन्त्रता र सहभागितालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यससँगै भद्रपुर–१० मा बाल सञ्जालले औपचारिक संरचना पाएको छ, जसले आगामी दिनमा बालबालिकामैत्री कार्यक्रमहरू सञ्चालन गर्दै अधिकारमुखी अभियानलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

वीरेन्द्र माध्यमिक विद्यालयमा आज एक भव्य समारोहका बीच जूनियर स्काउट “वीरेन्द्र स्काउट प्याक” तर्फको दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ। कक्षा १ देखि ५ सम्मका ६० जना बालबालिका स्काउट र ब्राउनीका रूपमा औपचारिक रूपमा दिक्षित भएका हुन्।

विद्यालयका प्रधानाध्यापक श्री खिलाराज कोइराला र स्काउट प्रशिक्षक श्री गङ्गा घिमिरेले दिक्षित बालबालिकालाई स्कार्फ र सदस्यता ब्याज वितरण गर्नुभयो। बालबालिकाले नियमित कक्षामा सहभागिता जनाई राष्ट्रिय गान, स्काउट गीत, कवाजका आदेश, समूह (सिक्स) मा बस्ने कला, प्याक मिटिङ सञ्चालन, ब्राउनी नियम तथा स्काउट रंगहरूको ज्ञान प्राप्त गरेपछि सदस्यता प्रदान गरिएको हो।

कार्यक्रममा प्रशिक्षक घिमिरेले, “ब्राउनी बालबालिकाले ‘सक्दो प्रयास गर’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्नेछन् भन्नेमा विद्यालय विश्वस्त छ,” भन्दै स्काउट कार्यक्रमले बालबालिकामा नेतृत्व, अनुशासन र सेवा भावना विकासमा सहयोग पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

दिक्षान्तसँगै विद्यालयमा स्काउट र ब्राउनीको संख्या ६० पुगेको छ। यस उपलब्धिलाई विद्यालय प्रशासनले ‘सशक्त र चरित्र निर्माण केन्द्रित शिक्षाको दिशामा महत्वपूर्ण पाइला’को रूपमा लिएको छ।

झापा — बिर्तामोडको न्यू स्टार फुटबल क्लबले दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप २०८२ को उपाधि जित्न सफल भएको छ। शनिबार शान्ति सामुदायिक वनको खेलमैदानमा सम्पन्न फाइनल खेलमा न्यू स्टारले मोरङको भाउन्ने युथ क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै उपाधि उचालेको हो।

खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए। भाउन्ने युथ क्लबका तर्फबाट दुवै गोल उमेश राईले गरेका थिए भने न्यू स्टारका लागि सौरभ सुब्बा र करण लिम्बुले एक–एक गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलको अन्त्यमा पेनाल्टी सुटआउटमा न्यू स्टार विजयी बन्दै प्रतियोगिताको उपाधि हात पार्न सफल भयो।

उपाधिसँगै न्यू स्टारले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो भने उपविजेता भाउन्ने क्लबले ५१ हजार रुपैयाँसहित ट्रफीमा चित्त बुझायो। खेलको म्यान अफ द म्याच न्यू स्टारका पेमा तामाङ घोषित भए, जसले नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू स्टारकै निमा तामाङ घोषित भए, जसले ट्रफीसँगै ५ हजार रुपैयाँ प्राप्त गरे। न्यू स्टारकै बिबेक मगर उत्कृष्ट गोलरक्षक, देवेन्द्र तामाङ उत्कृष्ट डिफेन्डर, बादल तामाङ उत्कृष्ट मिडफिल्डर र अङ्गु सुब्बा उत्कृष्ट प्रशिक्षक घोषित भए। भाउन्ने क्लबका आयुष राई उत्कृष्ट फरवार्ड तथा उमेश राई प्रतियोगिताका हाई स्कोरर घोषित भए। सबै विधागत विजेताहरूले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

जेठ १७ गतेदेखि सुरु भएको प्रतियोगिता जलथल फुटबल क्लबको आयोजनामा भएको थियो, जसको समापन शनिबार जेठ २४ गते भव्य रूपमा सम्पन्न भयो। समापन समारोहमा प्रमुख अतिथि पूर्व उपप्रधान तथा जलस्रोत तथा उर्जामन्त्री राजेन्द्रप्रसाद लिङदेनको उपस्थिति रहेको थियो। त्यस्तै, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर महेन्द्र, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा जलथल फुटबल क्लबका अध्यक्ष जयबहादुर राईले खेलमैदानको स्तरोन्नति गर्न स्थानीय सरकारसँग माग राखेका थिए। प्रमुख अतिथि लिङदेनले उक्त मागलाई सम्बोधन गर्दै आगामी बजेटमै शान्ति खेलमैदान स्तरोन्नतिको योजना समेट्न सुझाव दिए। शुभकामना मन्तव्य राख्दै हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले खेल विकासका लागि आवश्यक बजेट विनियोजन गरिने स्पष्ट प्रतिबद्धता जनाएका थिए।

भद्रपुर, झापा — झापाको प्रमुख व्यापारिक केन्द्र तथा सदरमुकाम भद्रपुरमा भुस्याहा कुकुरको बढ्दो आतङ्कले जनजीवन त्रासमय बनेको छ। रातको समयमा त सडकमा एक्लै हिँड्न समेत डर लाग्ने अवस्था सिर्जना भएको छ भने घरपालुवा पशुचौपायामा आक्रमण बढेसँगै कृषकहरू ठूलो क्षतिको सामना गरिरहेका छन्।

स्थानीयहरूका अनुसार नियन्त्रणबिहीन रूपमा बढिरहेका भुस्याहा र छाडा कुकुरहरू समूह बनाएर चोक–चोकमा बसेर मान्छे देख्नासाथ आक्रामक ढंगले झम्टिन थाल्ने गरेका छन्। यस्ता कुकुरले खसी, बाख्रा, कुखुरा जस्ता घरपालुवा जनावरलाई टोक्ने, मार्ने र खाने घटनाहरू दैनिकजसो भइरहेका छन्।

भद्रपुर–८, स्वर्ण टोलका कृषक मित्रप्रसाद अधिकारीले बारीमा बाँधेको बाख्रालाई भुस्याहा कुकुरले आक्रमण गरी गम्भीर घाइते बनाएको बताए। “बाख्रालाई मार्न लागेको बेला हामीले भेट्यौँ, पेट च्यातिसकेको थियो। उपचार गरेपछि बल्लबल्ल ज्यान जोगियो,” अधिकारीले भने। उनका अनुसार हालसम्म गाउँमा सातदेखि आठवटा खसी–बाख्रा कुकुरको आक्रमणमा परेर मरेका छन्।

यो समस्या केवल स्वर्ण टोलमा मात्र सीमित छैन। कनकश्री टोल, पारिजात टोल, सुकीर्ति टोललगायतका क्षेत्रमा पनि कुकुरको आतंक उस्तै रहेको छ। “धेरैले कुकुर त पाल्छन्, तर जिम्मेवारीपूर्वक हेरचाह गर्दैनन्,” सुकीर्ति टोलका एक पीडितले भने, “छाडा कुकुरले पशु मात्र होइन, मान्छेलाई पनि टोक्न थालेपछि रेबिजको सुई लगाउनु पर्ने बाध्यता बढेको छ।”

स्थानीय बासिन्दाहरू भन्छन्— यदि यथाशीघ्र नियन्त्रण र व्यवस्थापन गरिएन भने कुकुरको आक्रमणका कारण मानवीय क्षति र सडक दुर्घटनाको जोखिम समेत बढ्नेछ। रातको समयमा पैदल, साइकल वा मोटरसाइकलमा यात्रा गर्न सकिने अवस्था नरहेको उनीहरूको भनाइ छ।

नगर प्रमुखलाई समेत समस्याबारे जानकारी गराइसकेका अधिकारीले आग्रह गरे— “भुस्याहा कुकुर नियन्त्रणका लागि नगरपालिका तुरुन्तै जिम्मेवार बन्नुपर्छ, नत्र जनधनमा थप क्षति हुनसक्छ।”

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।