२०८२ आश्विन २५ शनिबार
२०८२ आश्विन २५ शनिबार

झापामा ऐतिहासिक ह्याकाथन ‘प्रोग्रामर्स अननोन ब्याटलग्राउन्ड’ सम्पन्न

झापा — सूचना प्रविधि क्षेत्रमा क्रियाशील युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले झापाको बिर्तामोडमा पहिलोपटक आयोजना गरिएको अन्तर्राष्ट्रिय ह्याकाथन ‘प्रोग्रामर्स अननोन ब्याटलग्राउन्ड’ (Programmers Unknown Battleground) सफलतापूर्वक सम्पन्न भएको छ। डेभलपर्स एसोसिएसन झापाको आयोजना तथा गोमेन्द्र मल्टिपल कलेजको मुख्य प्रायोजनमा सम्पन्न ४८ घण्टे यो कार्यक्रम साउन २९ देखि ३१ गतेसम्म सञ्चालन गरिएको थियो।

नेपालका विभिन्न सहरहरू र भारतको सिक्किमसहित १५ टोली सहभागी भएको ह्याकाथनमा उत्कृष्ट सिर्जनात्मकता प्रदर्शन गर्दै १० टोलीहरू अन्तिम चरणमा पुगेका थिए। अन्ततः भरतपुरबाट सहभागी ‘एरोमा ह्याकफोर्स’ (Aroma HackForce) विजेता घोषित भयो।

विजेता टोलीले सिमकार्ड वा इन्टरनेट नचलेका स्थानहरूमा वन्यजन्तु संरक्षण तथा फिल्ड अपरेसनलाई सहयोग गर्ने लोकेसन ट्र्याकिङ र सञ्चार उपकरण निर्माण गरेको थियो। लो–रा (LoRa) प्रविधिमा आधारित यस उपकरणले नेटवर्क नभएको ठाउँमा पनि टेक्स्ट मेसेज पठाउन सक्ने र आपतकालीन अवस्थामा सूचना आदान–प्रदान गर्न सक्ने क्षमता राख्दछ।

अन्य विधामा पनि प्रतिभाशाली टोलीहरूले उत्कृष्टता देखाएका थिए। सामाजिक प्रभाव (Social Impact) तथा टेलिमेडिसिन विधामा ‘नेपडेभ’ (NepDev), संस्कृति सशक्तीकरण (Empowering Culture) विधामा झापाको वीर अमर सिंह माध्यमिक विद्यालयको टोली ‘फ्लुइड’ (Fluid), ग्लोबल बिजनेस विधामा ‘नेलो’ (Nelo) र उत्कृष्ट आईओटी (Best IoT) विधामा ‘बबज’ (Babuzz) पुरस्कृत भए।

कार्यक्रमबारे जानकारी दिँदै आयोजक समिति सदस्य अविरल आचार्यले भने, “झापामा यति ठूलो प्रविधि–आधारित कार्यक्रम आयोजना गर्नु आफैंमा चुनौतीपूर्ण थियो। तर सबैको समर्पण र सहकार्यले हाम्रो सपना साकार भएको छ।”

उनका अनुसार विजेता ‘एरोमा ह्याकफोर्स’ र ‘फ्लुइड’ का सदस्यहरू हाल कक्षा १२ मा अध्ययनरत छन्, जसको प्रविधिप्रतिको लगाव र क्षमता प्रेरणादायी रहेको बताए।

कार्यक्रमलाई सफल बनाउन आयोजक समितिमा अविरल आचार्यसहित सोहन ढकाल, समीक्षा योङहाङ, सर्वेश अधिकारी, युगल निरौला, इशान पोखरेल, दीपक खनाल, विनायक कार्की, समिर निरौला, कौशल रिजाल आदिको सक्रिय भूमिका रहेको थियो।

यस ह्याकाथनमा गोमेन्द्र मल्टिपल कलेज मुख्य प्रायोजक थियो भने आरडी–वान स्टेप अहेड सह–प्रायोजक थिए। साथै एक्सेल डेभलपमेन्ट बैंक, प्रथम आईटी सिस्टम, क्वालिटी कम्प्युटरलगायत विभिन्न संघ–संस्थाहरूले सहयोग गरेका थिए। कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालय झापा, बिर्तामोड नगरपालिका र वडा नं. ४ ले पनि सहयोग गरेका थिए।

आयोजकहरूको विश्वासमा, यस्ता कार्यक्रमहरूले राजधानीमा सीमित प्रविधि क्षेत्रलाई विकेन्द्रीकरण गर्दै देशका विभिन्न भूभागमा नवप्रवर्तन र डिजिटल क्षमताको विकासमा टेवा पुर्‍याउनेछ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।