२०८२ श्रावण ३ शुक्रबार
२०८२ श्रावण ३ शुक्रबार

भद्रपुरमा दोस्रो युवा सम्मेलन सुरु, नेतृत्व विकास र जलवायु अभियानमा जोड

भद्रपुर, झापा । भद्रपुर नगरपालिकाको आयोजनामा दोस्रो संस्करणको नगर युवा सम्मेलन २०८२ शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। “युवाको सशक्तीकरण, जलवायु कार्य, नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो” भन्ने मूल नारासहित सञ्चालन भइरहेको दुईदिने सम्मेलनले युवामा नेतृत्व क्षमता, सामाजिक जिम्मेवारी र दिगो विकासप्रतिको योगदानलाई अभिवृद्धि गर्ने उद्देश्य लिएको छ।

कोशी प्रदेशमै पहिलोपटक युवा सम्मेलन आयोजना गरेर उदाहरण प्रस्तुत गरेको भद्रपुर नगरपालिकाले सफल पहिलो संस्करणपछि त्यसको निरन्तरतास्वरूप यसपटक दोस्रो संस्करणको आयोजना गरेको हो। उद्घाटन समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले सम्मेलनको उद्घाटन गर्नुभयो। उहाँले युवाशक्तिलाई सहभागी नगराई समाजको समुन्नति सम्भव नभएको उल्लेख गर्दै भद्रपुर नगरपालिकाले युवामैत्री कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पार्नुभयो।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, भद्रपुर नगरपालिकाका पूर्व नगरप्रमुख जीवनकुमार श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सचिवालय सदस्य, झापा क्षेत्र नं. ३ इन्चार्ज, वाइसीएल नेपाल १ नम्बर प्रदेश फ्र्याक्सन इन्चार्ज डिल्लीराम घिमिरे (हिक्मत) र असारू राजवंशी नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल, सामाजिक विकास समिति संयोजक सीता गुरागाईं ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनाले गर्नुभएको थियो भने स्वागत मन्तव्य भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले राख्नुभएको थियो। उद्घाटन कार्यक्रमको सञ्चालन नगर युवा परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले गर्नुभएको थियो।

सम्मेलनको पहिलो दिन युवा प्रेरणा र सिर्जनात्मकतामा केन्द्रित विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो। डा. सन्देशदास श्रेष्ठले “युथ मोटिभेसन अफ लिडरसीप” विषयमा विचार व्यक्त गर्नुभएको थियो भने वातावरणविद् अर्नव चौधरीले “युथ एण्ड क्लाइमेट एक्सन” विषयमा युवाको भूमिकामाथि प्रकाश पार्नुभयो। त्यस्तै चर्चित कवि नवराज पराजुलीले “कवि र कविता” शीर्षकमा कविता र विचारमार्फत युवालाई सिर्जनात्मक अभिव्यक्तिमा प्रेरित गर्नुभएको थियो।

दोस्रो दिन विभिन्न क्षेत्रका विज्ञ तथा जनप्रतिनिधिहरूको सहजीकरणमा विविध सत्र सञ्चालन गरिने कार्यक्रम तय गरिएको छ। इन्जिनियर आरिफ अली, युवा अभियन्ता प्रतीक राउत, संघीय सांसदद्वय महेश बर्तौला र रामहरि खतिवडा, सामाजिक अभियन्ता रजनी थापा र सुगारिका केसीले दोस्रो दिनका विभिन्न सत्रमा सहजीकरण गर्नेछन्।

कार्यक्रमको विशेष आकर्षणका रूपमा चर्चित संगीतकार तथा गायक प्रशान्त शिवाकोटीलाई सम्मान गरिनेछ भने सम्मेलनको समापनमा ‘भद्रपुर घोषणापत्र–२०८२’ सार्वजनिक गर्दै औपचारिक समापन गरिने तयारी गरिएको नगर युवा परिषद्ले जनाएको छ।

दुईदिने नगर युवा सम्मेलनले युवाहरूमा सामाजिक तथा सामुदायिक जिम्मेवारीप्रतिको चेतना अभिवृद्धि गर्ने, जीवनोपयोगी सीपको विकास गराउने, नेतृत्व क्षमताको अभिवृद्धि गर्दै सक्षम नेतृत्व उत्पादनमा योगदान पुर्‍याउने र दिगो विकासको स्थानीयकरणमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।