भद्रपुर, झापा । कोशी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालय, विराटनगरबाट प्राप्त निर्देशन अनुसार आर्थिक वर्ष २०७९ चैत ३० गतेदेखि २०८० चैत २६ गतेसम्म विभिन्न प्रकारका गम्भीर रोगका लागि आर्थिक सहायता माग गर्दै आवेदन दिएका भद्रपुर नगरपालिकावासी बिरामीहरूको विवरण सार्वजनिक गरिएको छ।

स्वास्थ्य शाखा, भद्रपुर नगरपालिकाका अनुसार ती बिरामीमध्ये हालसम्म आर्थिक सहायता भुक्तानी प्राप्त गर्न बाँकी रहेकाहरूले आ-आफ्नो सम्बन्धित वडा कार्यालयमा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्नेछ। भुक्तानी प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक विवरणहरू वडा कार्यालय तथा भद्रपुर नगरपालिकाको वेबसाइटमा उपलब्ध छन्। सो विवरणमा बिरामीको नाम, ठेगाना, रोगको प्रकार, निवेदन मिति लगायतका सम्पूर्ण जानकारी समावेश गरिएको छ।
नगरपालिकाले गम्भीर रोग पीडितहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो सहायता कार्यक्रमबाट क्यान्सर, मिर्गौला फेल, हृदयघात, पक्षघात (प्यारालाइसिस), मेरुदण्ड (स्पाइनल) समस्या, ट्युमर, नशासम्बन्धी रोग लगायतका दीर्घरोगीहरू लाभान्वित हुनेछन्।
स्वास्थ्य शाखाले नगरवासीहरूलाई समयमै सम्पर्क गरी प्रक्रिया अघि बढाई सहयोग रकम प्राप्त गर्न पुनः अनुरोध गरेको छ।
