भद्रपुर, झापा। ‘युवाहरूको सशक्तीकरण : जलवायु कार्य, नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने मूल नाराका साथ झापाको भद्रपुर नगरपालिकामा दोस्रो नगर युथ समिट आगामी जेठ २३ र २४ गते हुने भएको छ। कार्यक्रमको आयोजना भद्रपुर नगरपालिका र नगर युवा परिषद्को संयुक्त पहलमा गरिएको हो।

बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिँदै नगर प्रमुख गणेश पोखरेलले युवाहरूले आफ्ना क्षमता पहिचान गरी राष्ट्र र समाजको दिगो र सुरक्षित भविष्य निर्माणमा योगदान पुर्याउने उद्देश्यले समिट आयोजना गरिएको बताए। उनले विश्वव्यापी जलवायु परिवर्तनका प्रभाव, स्थानीय विकासमा युवाको सक्रिय सहभागिता, नेतृत्व विकास र व्यवहारिक सीप सँगै उनीहरूको सामाजिक दायित्वबोध अभिवृद्धिका लागि समिट उपयोगी हुने विश्वास व्यक्त गरे।
समिटपछि घोषणापत्र जारी गरिने र उक्त घोषणापत्रलाई बजेट तथा नीति निर्माणमा समावेश गरिने योजना रहेको पोखरेलले उल्लेख गरे। उनका अनुसार, पहिलो युथ समिटबाट प्राप्त अनुभवलाई समेट्दै यो समिटलाई अझ प्रभावकारी बनाउने तयारी गरिएको छ।
कार्यक्रममा १६ देखि २४ वर्ष उमेर समूहका २२० जना युवायुवतीको सहभागिता रहनेछ। नगर युवा परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलका अनुसार सहभागीमध्ये ६० जना वडागत रूपमा (प्रत्येक वडाबाट ६ जना), १०० जना खुला आवेदनबाट, ३० जना संघ–संस्थाबाट, १० जना परिषद्का प्रतिनिधि र २० जना पर्यवेक्षक हुनेछन्।
समिटमा जलवायु परिवर्तनको विश्वव्यापी प्रभाव, नेपालको वर्तमान अवस्था, युवाको सामाजिक भूमिकालगायत विषयमा बहस, कार्यशाला, जीवनोपयोगी सीप तथा नेतृत्व विकासबारे अभिमुखीकरण गरिनेछ।
कार्यक्रममा डा. सन्देशदास श्रेष्ठ, अर्णव चौधरी, नवराज पराजुली, इन्जिनियर आरिफ अली, प्रतीक राउत, महेश बर्तौला, रजनी थापा, रामहरि खतिवडा, सुगारिका केसीलगायतका विषय विज्ञहरूले सहजीकरण गर्ने नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनाले जानकारी दिए।
समापन कार्यक्रममा भद्रपुर नगरका युवा गायक तथा प्रतिभा प्रशान्त शिवाकोटीलाई सम्मान गरिने जनाइएको छ।
