झापा । हल्दीबारी गाउँपालिकाको आयोजनामा मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी पाँचदिने सीपमूलक तालिम सोमबार सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको उद्देश्य कृषकहरूलाई व्यावसायिक कृषि प्रणालीमा सक्षम बनाउँदै आत्मनिर्भर बनाउनु रहेको थियो।

तालिममा गाउँपालिकाका पाँचै वडाबाट प्रतिनिधित्व गर्दै छनोट गरिएका २५ जना कृषकहरूको सहभागिता रहेको थियो। उनीहरूलाई अनुभवी प्रशिक्षक राजेन्द्र कणरिया र बिमल तामाङले मौसमी अनुकूल खेती प्रविधि, माटोको परीक्षण, मल तथा औषधिको सही प्रयोग, रोग कीराको व्यवस्थापन र बजारमुखी उत्पादन प्रविधिबारे व्यवहारिक तालिम प्रदान गरेका थिए।
प्रशिक्षक तामाङले दैनिक उपभोग्य तरकारी आफैँ उत्पादन गर्न सके बजारको अभाव नहुने उल्लेख गरे। उनले कृषकहरूलाई उत्पादनसँगै बिक्री वितरणसम्मका उपायहरू पनि सिकाएका थिए। प्रशिक्षक कणरियाले उत्पादनमा माटो, मल र भिटामिनको सन्तुलित प्रयोगको महत्त्वबारे प्रस्ट पारे।
समापन कार्यक्रम हल्दीबारी गाउँपालिका कार्यवाहक अध्यक्ष देवीबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं २ का अध्यक्ष शुकलाल राजवंशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, कार्यपालिका सदस्य भगिरथा दाहाल, महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर तथा सहभागी कृषकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष थापाले सिकिएको सीपलाई व्यवसायसँग जोड्दै आर्थिक सशक्तिकरणतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो। वडा अध्यक्ष राजवंशीले पनि कृषि व्यवसायलाई प्रवर्द्धन गर्दै आत्मनिर्भर समुदाय निर्माणमा यस्ता तालिम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको औचित्यमाथि प्रकाश निमित्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले पारेका थिए भने कार्यक्रम सञ्चालन रोजगार संयोजक सपना न्यौपानेले गर्नुभएको थियो।
