झापा । गणतन्त्र दिवस २०८२ को अवसरमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको किच्चकबध क्षेत्रको संरक्षण र सफाइको उद्देश्यले वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति झापा, जिल्ला प्रशासन कार्यालय झापा र भद्रपुर नगरपालिकाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, नेपाल सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा महेशपुर, नेपाल स्काउट, सगरमाथा फाउन्डेसन, ढल्के जोवन फुटबल क्लब लगायत स्थानीय संघ–संस्था र समुदायका उल्लेखनीय प्रतिनिधित्व रहेको थियो।
सफाइ कार्यक्रमको क्रममा नगरप्रमुख पोखरेलले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा सबै पक्षको सक्रिय सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। साथै, उहाँले अभियानमा सहभागी सबैलाई आभार व्यक्त गर्दै यस्तो सकारात्मक पहलले जनचेतना अभिवृद्धि र नगरको स्वच्छता प्रवर्द्धनमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
किच्चकबध धार्मिक स्थललाई पर्यटकीय दृष्टिले समेत विकास गर्ने दीर्घकालीन उद्देश्यसहित सरसफाइ कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाहरूले जनाएका छन्। स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघ–संस्था र समुदायको समन्वयले सफल भएको यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

