झापा । हल्दीबारी गाउँपालिका नियमन क्षेत्रभित्रका सहकारी संस्थाहरूका लागि लेखा व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सहकारी प्रणालीलाई पारदर्शी, दिगो र जवाफदेही बनाउने उद्देश्यले आयोजित तालिममा हल्दीबारी क्षेत्रमा सक्रिय विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

तालिममा कोष सञ्चालन, कर सम्बन्धी व्यवस्थापन, चार खाता प्रणाली, गोश्वारा भौचरको प्रयोग, सम्पत्ति शुद्धिकरण प्रक्रिया र लेखा व्यवस्थापनका व्यवहारिक पक्षहरूमा व्यापक जानकारी दिइएको थियो। कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख उपसचिव टोमनाथ उप्रेतीले सहभागीहरूलाई प्राविधिक प्रशिक्षण प्रदान गरेका थिए। उनले सहकारीहरूको प्रभावकारिता बढाउन संस्थागत पारदर्शिता र वित्तीय अनुशासन अनिवार्य रहेको बताए।
कार्यक्रममा सहभागी संस्थाका तर्फबाट सौभाग्यवती कृषि सहकारीकी अध्यक्ष रोशनी शिवाकोटी, सक्रिय ज्येष्ठ नागरिक संस्थाका सचिव अर्जुन गिरी र जय दुर्गे कृषि सहकारीका सचिव तुलसी ढकालले आफ्नो धारणा राख्दै तालिम अत्यन्त उपयोगी भएको बताए। तर तालिमको अवधि छोटो भएकाले थप समय दिन सके अझ प्रभावकारी हुने बताएका थिए।
तालिमको उद्घाटन हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले जेठ १३ गते गरेका थिए। समापन कार्यक्रम आज सम्पन्न भएको हो, जसमा गाउँपालिकाका कार्यवाहक अध्यक्ष देवीबहादुर थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, प्रशासन शाखा प्रमुख बाबुराम ढकाललगायतको उपस्थिति रहेको थियो।
कार्यवाहक अध्यक्ष थापाले केही सहकारी संस्थाहरूको कमजोरीले समग्र सहकारी प्रणालीप्रतिको जनविश्वास कमजोर पारेको भन्दै अब सबै सहकारीहरू जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। उनले सहकारीले केवल आर्थिक लेनदेन मात्र नभई सामुदायिक समृद्धिको आधार बन्नुपर्ने बताए। त्यसैगरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले सहकारीले आफ्ना मूल उद्देश्य अनुरूप चल्न सकेमा संस्थाको गरिमा अझ बढ्ने धारणा व्यक्त गरे।
तालिमको सञ्चालन सहकारी शाखाकी प्रमुख कविता कर्णले गरेकी थिइन्। आयोजकले आगामी दिनहरूमा सहकारी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र व्यवस्थापन सुधारका लागि यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
