हल्दीबारी, झापा । अपाङ्गता भएका व्यक्तिहरूको संस्थागत सशक्तीकरण र निर्णय प्रक्रियामा सक्रिय सहभागिता सुनिश्चित गर्न झापाको हल्दीबारी गाउँपालिकामा ‘बैठक सञ्चालन र निर्णय लेखन’ सम्बन्धी एकदिवसीय विशेष तालिम कार्यक्रम सम्पन्न भएको छ। हल्दीबारी अपाङ्गता स्वावलम्बन संस्थाको आयोजनामा भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष लालबहादुर कन्दङ्वाको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन थिए। विशिष्ट अतिथिहरूको रूपमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नं. २ का अध्यक्ष शुकलाल राजवंशी, वडा नं. ४ का अध्यक्ष सन्तकुमार थापा, महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर, तथा करूणा फाउन्डेसनकी प्रतिनिधि अनुष्का केसी उपस्थित थिए।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष हरीमाया मिश्रले स्वागत मन्तव्य राखेकी थिइन् भने अतिथिहरूले आ–आफ्ना भनाइमार्फत अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण, समान अवसर, र नेतृत्व विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे।
तालिम सत्रमा प्रशिक्षक सन्तोष पण्डितले संस्था सञ्चालनका सैद्धान्तिक र व्यवहारिक पक्षहरूमा व्यापक प्रशिक्षण दिए। उनले बैठक कसरी सञ्चालन गर्ने, निर्णयहरू कसरी औपचारिक रुपमा दस्तावेज गर्न सकिने, तथा संस्थागत पारदर्शिता र जवाफदेहिताको अभ्यास कसरी गर्ने भन्ने विषयमा सहभागीहरूलाई प्रशिक्षण प्रदान गरे। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष लिङदेनले भने, “गाउँपालिका अपाङ्गता भएका व्यक्तिहरूको समान सहभागिता र अधिकार सुनिश्चित गर्न कटिबद्ध छ। उनीहरूको क्षमता विकासमार्फत समाजका हरेक तहमा सहभागी गराउनु हाम्रो प्राथमिकता हो।”
स्थानीय सरकार र सामाजिक संस्थाबीचको सहकार्यमा सञ्चालित यस्तो तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाई सजग, सक्षम र संगठित बनाउने दिशामा सार्थक योगदान पुग्ने आयोजक संस्थाको विश्वास छ।
