झापाको भद्रपुर नगरपालिका–९ स्थित केदारेश्वर शिव पाञ्चायन मन्दिर परिसरमा ‘केदारेश्वर बाल संस्कार पाठशाला’ स्थापना गरिएको छ। मन्दिरको संरक्षणमा तथा जनकल्याण प्रतिष्ठानको सहकार्यमा स्थापना गरिएको यस पाठशालाको उद्देश्य बालबालिकालाई संस्कार र संस्कृति सम्बन्धी शिक्षादिनु रहेको छ।

उद्घाटन कार्यक्रम भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, वडा नं. ९ का अध्यक्ष राम दाहाल, पत्रकार राजु बराल, र जनकल्याण प्रतिष्ठान विद्यालय विभागका प्रदेश सदस्य ईश्वर पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्दै बालबालिकाको नैतिक र सांस्कृतिक शिक्षामा यस्ता पाठशालाको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
कार्यक्रमको अध्यक्षता केदारेश्वर मन्दिर समिति अध्यक्ष भगीरथ नेपालले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य सन्तोष ढुङ्गानाले राखेका थिए भने सञ्चालन बिरेन्द्र मल्लले गरेका थिए।
स्थानीय धार्मिक संस्था र सामाजिक संघसंस्थाको सहकार्यमा स्थापना गरिएको यस बाल संस्कार पाठशालाबाट बालबालिकामा नैतिक, धार्मिक र सांस्कृतिक चेतना अभिवृद्धि हुने विश्वास गरिएको छ। आगामी दिनमा पाठशालालाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना रहेको आयोजक संस्थाले जनाएको छ।

