भद्रपुर, झापा – स्थानीय स्काउट कार्यालय, भद्रपुर नगरपालिका अन्तर्गतको व्यवस्थापनमा लागूपदार्थ दुर्व्यसनविरुद्ध अभिमुखीकरण तालिम भद्रपुर नगरपालिका–२ मा सम्पन्न भएको छ। कार्यक्रम स्थानीय संघ–संस्था, बन समितिहरू, युवा क्लब, प्रहरी र जनप्रतिनिधिहरूको सक्रिय सहभागितामा सम्पन्न भयो।

कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष राम कडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए भने सभाध्यक्ष विवेक चम्लगाईं थिए। इलाका प्रहरी कार्यालय पृथ्वीनगरका प्रहरी निरीक्षक किरन चेम्जोङ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
प्रदेश स्काउट समिति सदस्य शिवानी देवानले तालिमको सहजीकरण गरेकी थिइन्। उनले युवाहरूमा बढ्दो लागूपदार्थ दुर्व्यसनको जोखिम, त्यसको असर र रोकथाममा समुदायको भूमिकाबारे जानकारी दिएकी थिइन्।
कार्यक्रममा बन समितिका प्रतिनिधि, निर्वाचित वडा सदस्य, वडा सचिव तथा स्थानीय क्लबका प्रतिनिधिसहित करिब ४० जनाको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता तालिमहरूले समुदायमा चेतना अभिवृद्धि गर्ने र सामूहिक प्रयासमार्फत दुर्व्यसन नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।




