झापा, भद्रपुर — २०८२ जेष्ठ ७ गते बुधबार, भद्रपुर नगरपालिका–५, देवी बस्ती, मेची नदी किनारमा “विपत व्यवस्थापन र यसको पूर्व तयारी” शीर्षकमा अत्याधुनिक प्रविधि र उपकरणहरूको प्रयोग गरी अभ्यास सम्पन्न भयो।

युवा वैज्ञानिक अनिल प्रधान र उनको टोलीले आयोजना गरेको उक्त अभ्यासमा ड्रोन लगायतका आधुनिक उपकरणको प्रयोगमार्फत बाढी, आगलागी लगायतका विपद्का समयमा उद्धार तथा राहत कार्य कसरी प्रभावकारी रूपमा संचालन गर्ने विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरियो।
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उप–प्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, कर्मचारी, सशस्त्र प्रहरी बल, नगर प्रहरी तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पोखरेलले भने,
“यस्ता प्रविधिमैत्री अभ्यासहरूले हाम्रो नगरपालिकाको विपद् व्यवस्थापन क्षमतालाई अझ सशक्त बनाउने छन्। अनिल प्रधानजस्ता युवाहरूको समर्पण र नवप्रवर्तनले हाम्रो समाजलाई सुरक्षित र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। विपद् व्यवस्थापनमा प्रविधिको उपयोग अब अनिवार्य नै भइसकेको छ।”
आयोजक टोलीले यस अभ्यासले स्थानीय तह र सुरक्षा निकायबीच समन्वय र तत्परता अभिवृद्धि गर्ने मात्र नभई समुदायमा पनि जोखिम न्यूनिकरणका लागि आवश्यक पूर्व तयारीको महत्त्वलाई उजागर गरेको बताएको छ।
यस प्रकारको अभ्यासहरूले विपद्का बेला छिटो र प्रभावकारी उद्धार कार्य सुनिश्चित गर्दै जनताको सुरक्षा र जनजीवनमा न्यूनतम क्षति पुर्याउने दिशामा ठोस कदम हुन सक्ने अपेक्षा गरिएको छ।



