झापा — चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा झापा जिल्लामा पुँजीगत खर्च ४२.५६ प्रतिशत मात्र पुगेको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय, झापाका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार जिल्लाका लागि विनियोजित १० अर्ब ७१ करोड रुपैयाँमध्ये वैशाख मसान्तसम्म ४ अर्ब ५५ करोड ९२ लाख रुपैयाँ मात्र खर्च गरिएको हो।

त्यसैगरी, चालुतर्फ विनियोजित १६ अर्ब २२ करोड ९० लाख रुपैयाँमध्ये ७७.६३ प्रतिशत अर्थात् १२ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ खर्च भइसकेको कार्यालयले जनाएको छ।
कार्यालयका तथ्याङ्कअनुसार समग्र खर्च ६३.६९ प्रतिशत पुगेको छ। यो अनुपातमा झापामा हालसम्म १७ अर्ब १५ करोड ८५ लाख ७० हजार रुपैयाँ खर्च भएको देखिन्छ।
यता चालु आवको वैशाख मसान्तसम्म जिल्लामा १६ अर्ब ९७ करोड ६९ लाख ७ हजार २३ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
