झापा — पूर्वी नेपालको ऐतिहासिक नगर भद्रपुर, जुन नेपालकै पुराना नगरमध्ये एक मानिन्छ, आज समृद्धिको यात्रामा भने धेरै पछाडि परेको छ। समकालीन समयमा स्थापना भएका नगरहरू उपमहानगरको हैसियतसम्म पुगिसक्दा पनि भद्रपुर पुरानै शैली र संरचनामा सीमित रहँदा यसको नेतृत्वमा प्रश्न उठ्न थालेको छ।

नगरको नेतृत्व सम्हाल्ने जनप्रतिनिधिहरूमाथि विकासप्रति उदासिनताको आरोप लाग्दै आएको छ। भद्रपुरलाई समृद्ध बनाउने हो भने यस नगरको सम्भाव्य क्षेत्रहरू — कृषि, पर्यटन र उद्योग — मा योजनाबद्ध विकास अपरिहार्य देखिन्छ।
कृषिमा पृथ्वीनगर, महेशपुर र चन्द्रगढी क्षेत्र अत्यन्त उर्वर मानिन्छन्। तर कृषि अनुदान वितरणमा देखिएको भेदभाव र कृत्रिमता, उत्पादनको उचित मूल्य नपाउने अवस्था, तथा किसानप्रति नीति र ध्यानको कमीले यो क्षेत्र पछाडि परेको हो। उत्पादनलाई बजारसम्म पु¥याउने प्रभावकारी संयन्त्र अभावमा कृषक पेशा परिवर्तन गर्न बाध्य छन्।
चियाको पकेट क्षेत्रका रूपमा चिनिने भद्रपुरमा चिया उद्योग, धान मिल, प्लाइउड उद्योगको व्यापक सम्भावना छ। तर किसान, मजदुर र उद्योगीबीच समन्वय कायम गरी उद्योगमैत्री वातावरण बनाउनेतर्फ नगर प्रशासन गम्भीर देखिँदैन।
भद्रपुरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेका स्थलहरू किचकवध, कमलधाप र चन्द्रगढ, पर्यटनका सम्भाव्य गन्तव्य हुन्। तर संरक्षण र प्रचारप्रसारको अभावमा यी क्षेत्र ओझेलमा परिरहेका छन्।
कमलधाप, जहाँ धार्मिक सहिष्णुता र जातीय एकताको प्रतिक देखिन्छ, हाल गाइबाख्राको चरणस्थलजस्तो भएको छ। मठ, मन्दिर र गुम्बाले सजिएको क्षेत्र स्थानीय तहको उपेक्षाका कारण छायामा परेको छ। चन्द्रगढजस्तो ऐतिहासिक स्थलको त पहिचान नै हराउने अवस्थामा पुगेको छ।
यदि यी तीन क्षेत्रको मात्र योजनाबद्ध विकास गरियो भने पनि भद्रपुरमा लाखौँ पर्यटक भित्र्याउन सकिने सम्भावना छ, जसले नगरको आर्थिक रुपान्तरणमा ठूलो टेवा पुर्याउनेछ।
नगरको विकास योजनामा निरन्तर अलमल देखिएको अवस्था छ। निर्वाचनका बेला चिटिक्क आकर्षक योजना प्रस्तुत गर्ने जनप्रतिनिधि सत्तामा पुगेपछि त्यही योजना कार्यान्वयनमा ल्याउन असफल भइरहेका छन्। परिणामस्वरूप नगरबासीमा निराशा बढ्दो छ।

७४ वर्ष लामो इतिहास बोकेको भद्रपुर आजसम्म पनि आधारभूत पूर्वाधार र व्यवस्थित विकासको पर्खाइमा छ। विगतका नेतृत्वको असफलतालाई पाठ बनाएर अबको नेतृत्वले दीर्घकालीन सोच र योजनाका साथ अघि बढ्न सके मात्र भद्रपुर समृद्ध नगरको रुपमा अगाडि बढ्न सक्छ।