नेकपा (माओवादी केन्द्र) हल्दिवारी गाउँ समितिले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको हक अधिकार सुनिश्चित गर्न माग गर्दै हल्दिवारी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ। संविधानले प्रत्याभूत गरेका नागरिक अधिकारलाई स्थानीय तहमा कार्यान्वयन नगरेको भन्दै तत्काल लालपूर्जा वितरणको वातावरण निर्माण गर्न माग गरिएको हो।

गाउँ कमिटी अध्यक्ष खगेन राजवंशीको नेतृत्वमा गएको सरोकारवाला टोलीले पार्टीका जिल्ला सचिव संविधानसभा सदस्य माननीय मोहन टुडु, क्षेत्रिय संयोजक टीका पोखरेल पालिका इन्चार्ज बिजय प्रकाश लावती सहितको उपस्थितमा गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेबि मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), आयोग प्रमुख दिपक रेग्मीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा भनिएको छ, “भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लालपूर्जा वितरण कार्यलाई अबिलम्ब अगाडि बढाइनुपर्छ। टोलिमा खटिएका कार्यकर्तामाथि आरोप लगाउँदै अवरोध गर्नु आपत्तिजनक र राजनीतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ। यस्तो कार्य तत्काल रोक्नुपर्छ।”
ज्ञापनपत्रमा पार्टी अध्यक्ष खगेन राजवंशी, सचिव हैकम घिसिङ र इन्चार्ज विजय बगातीको हस्ताक्षर रहेको छ। पार्टीले यस्तो अन्याय पूर्ण व्यवहार तत्काल अन्त्य नगरे कडा आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ।
ज्ञापनपत्र बुझाउँदा गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन र प्रशासकीय प्रमुख महेन्द्र बनले यस विषयलाई गम्भीर रूपमा लिने प्रतिबद्धता जनाउँदै स्थानीय सरकारले आवश्यक छलफल गरेर समस्या समाधान गर्ने बताए। उनीहरूले लालपूर्जा वितरण सम्बन्धी विषयमा प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट पारेका थिए।
नेपाल सरकारले भूमिहीन समस्या समाधानका लागि गठन गरेका विभिन्न संयन्त्रहरूमार्फत सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्दै आएको भए पनि हल्दिवारीमा सो प्रक्रिया प्रभावकारी रूपमा अगाडि नबढेको भन्दै नेकपा माओवादी केन्द्रले दबाब स्वरूप ज्ञापन पत्र बुझाएको हो।










