द्रोण अधिकारी
झापा- नेपालको सुदूरपूर्वी तराईमा अवस्थित जलथल वन जैविक विविधताको दृष्टिले दक्षिण एशियामै विशिष्ट मानिने वन क्षेत्र हो। झापाको हल्दिवारी, कचनकवल, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकामा फैलिएको ६१०० हेक्टर क्षेत्रफलमा फैलिएको यो वन हाल संरक्षण संकटमा पर्दै गएको गम्भीर चिन्ता वैज्ञानिक, अनुसन्धानकर्ता र स्थानीयवासीहरूबीच चुलिँदो छ।

वन तथा वातावरणको सन्तुलन कायम राख्न जैविक विविधताको भूमिका निर्णायक हुन्छ। तर पछिल्ला वर्षहरूमा जलथल वनमा पाइने रैथाने रूख, झारपात, लता–लहरा, वन्यजन्तु र च्याउ–ढुसी प्रजातिहरू संकटमा पर्न थालेका छन्। वन संरक्षणका नाममा गैरजिम्मेवार उपभोक्ता समूहहरू र कमजोर सरकारी निगरानी प्रणालीले वन क्षेत्रलाई कमाइखाने माध्यममा परिणत गरिरहेको आरोप conservationistहरूले लगाउँदै आएका छन्।

वन क्षेत्रमा १५५ प्रजातिका रूख, २४६ प्रकारका झारपात, ७८ बुट्यान, ४३ माछा, १५७ पुतली, २३५ चरा, २७ स्तनधारी प्राणी र ८४ प्रकारका च्याउ फेला परिसकेका छन्। विज्ञहरूका अनुसार नेपालभर रहेका ६०० प्रजातिका रूखमध्ये एक चौथाईभन्दा बढी यही क्षेत्रमा पाइन्छ, जुन तथ्यले जलथललाई ‘रूखहरूको राजधानी’ भन्न सकिने आधार बनाएको छ।
झण्डै एक दशकअघि उपेक्षित अवस्थामा पुगेको जलथल वनमा गैरसरकारी संस्था ‘फरेष्ट एक्सन नेपाल’ को सक्रियतापछि संरक्षणमा सकारात्मक मोड आएको हो। संस्थाले स्थानीयलाई वनको जैविक संरचना, व्यवस्थापन प्रणाली र संरक्षण चेतना सम्बन्धी तालिम र कार्यक्रमहरू सञ्चालन गर्दै पुनरुत्थानको बाटो खोलेको थियो।
तर, दातामुखी आशामा सीमित भएका सामुदायिक वन उपभोक्ता समूहहरू तथा संरक्षणका नाममा डलरमुखी प्रवृत्तिले पछिल्लो समय पुनः वन संकटमा पर्ने खतरा बढेको conservationist डा. लिलानाथ शर्मा बताउँछन्। “यदि यथास्थितिमा सुधार भएन भने अबको १० वर्षमा जलथल वन पुनः फडानी, वन्यजन्तु विस्थापन र जैविक संकटको घेरामा पर्न सक्छ,” उनले चेतावनी दिए।
वन संरक्षणमा उपेक्षा हुनुका कारण वनभित्र पाइने पानीका मुहान सुक्दै जाँदा जलचर र स्थल प्राणीहरूको आहार चक्रमा अवरोध उत्पन्न भएको छ। हात्ती, मृग, बँदेल, निलगाईजस्ता वन्यजन्तुहरू गाउँ पस्ने, अन्नबाली नष्ट गर्ने र जनधनको क्षति गर्ने घटना बढ्दो छ।
यसैबीच, वनमारा झार र विदेशी प्रजातिका लहराको फैलावटले रैथाने वनस्पति र तिनमा आश्रित वन्य प्राणीहरू संकटमा परेका छन्। जैविक चरित्रमा ह्रास आउँदा स्थानीय वनवासीहरू पनि प्रत्यक्ष रूपमा प्रभावित हुँदै गएका छन्।
प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ IUCN ले सूचीकृत गरेका वनस्पति—अनौकाठ, थाकल, रातो शिरीष—र प्राणीहरू—हात्ती, सालक, लाम्चे कछुवा—जलथलमा पाइन्छन्। साथै, संसारमै दुर्लभ भोटे लहराको पनि अभिलेख यहाँ गरिएको छ।

नेपालको कुल वनक्षेत्रको ०.१ प्रतिशत भूभाग मात्र ओगटेको जलथल वनमा नेपालका २५ प्रतिशतभन्दा बढी रूख प्रजाति पाइन्छन्, जुन तथ्यले यसको जैविक महत्त्वलाई अझ सुदृढ बनाउँछ।
विशेषज्ञहरूका अनुसार जलथल वनमा पाइने सिमसारको विशेषता र जैविक घनत्वलाई ध्यानमा राखी यसलाई रामसार सूचीमा सूचीकृत गर्न सकिने सम्भावना प्रबल छ। जसबाट पर्यावरणीय पर्यटनको विकास, अन्तर्राष्ट्रिय अनुदानको प्रवेश र वैज्ञानिक अनुसन्धानको केन्द्रको रूपमा विकास गर्न सकिनेछ।
तर त्यसका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारको सक्रिय समन्वय, बजेट विनियोजन र दीर्घकालीन संरक्षण रणनीति अनिवार्य देखिन्छ। साथै, सामुदायिक वन उपभोक्ता समूहहरूले दायित्वबाट भागेर दाताको मुख ताक्ने प्रवृत्तिमा सुधार गर्न जरुरी छ।
जलथल वन केवल वन क्षेत्र मात्र होइन, यो नेपालको जैविक सम्पदा, प्राकृतिक प्रयोगशाला र भावी पुस्ताको श्रोत हो। संरक्षणको सन्दर्भमा अब पनि ढिलो भइसकेको छैन, तर अविलम्ब कदम चाल्नुपर्छ। वन देखाएर कमाइ खाने प्रवृत्तिको अन्त्य गर्दै उत्तरदायी नेतृत्व, वैज्ञानिक सोच र स्थानीय चेतनाको एकीकृत प्रयासमार्फत मात्र जलथल वनको जैविक विविधता सुरक्षित रहन सक्छ।