भद्रपुर, झापा । अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सहभागिता, सशक्तिकरण र प्रतिनिधित्व सुनिश्चित गर्न भद्रपुर नगरपालिकाका सबै १० वडामा वडा स्तरीय अन्तरसंवाद कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमको उद्देश्य अपाङ्गता सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै नीति, सुविधा र अवसरमा उनीहरूको पहुँच सुदृढ बनाउने रहेको थियो।

उक्त कार्यक्रम कोशी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालको साझेदारीमा, भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा तथा वडास्तरीय मिलीजुली समूहको आयोजनामा सञ्चालन गरिएको हो।
कार्यक्रमका सहजकर्ता तथा सामाजिक विकास शाखाका प्रतिनिधि नरेन्द्र प्रधानका अनुसार कार्यक्रममार्फत अपाङ्गता रोकथाम तथा पुनर्स्थापनासम्बन्धी विषय, कार्यक्रमको कार्यान्वयन क्षेत्र, अपाङ्गता परिचयपत्रका प्रकारहरू, अपाङ्गता भएका व्यक्तिले पाउने सेवा तथा सुविधा, र उनीहरूको संवैधानिक तथा कानुनी अधिकारहरूका बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
प्रधानले बताएअनुसार सहभागीहरूलाई राजनीतिक, संस्थागत, सामाजिक तथा भौतिक संरचनाहरू निर्माणसम्बन्धी उपभोक्ता समितिमा समेत अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने महत्त्वपूर्ण पक्षमा समेत अभिमुखीकरण गरिएको थियो।
कार्यक्रमको सफल सञ्चालनमा सहजकर्ताहरू शङ्कर लम्साल, सोनी सुब्बा र पूजा श्रेष्ठको उल्लेखनीय भूमिका रहेको थियो भने वडा–वडामा प्रस्तुतीकरण नरेन्द्र प्रधानले गरेका थिए।
केन्द्रीय तथ्याङ्क विभागको सन् २०७८ को जनगणनाअनुसार भद्रपुर नगरपालिकामा १,६३१ जना अपाङ्गता भएका व्यक्ति छन्। तीमध्ये २०७९ सालको बैशाख मसान्तसम्म ९२८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ।
