२०८२ श्रावण ३ शुक्रबार
२०८२ श्रावण ३ शुक्रबार

हल्दीबारीमा एकल तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि तीनदिने बाटने धुप बनाउने तालिम

हल्दीबारी, झापा । हल्दीबारी गाउँपालिकामा एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन र आर्थिक रूपमा सबल बनाउन लक्षित गर्दै तीनदिने बाटने धुप बनाउने तालिम आजदेखि सुरु गरिएको छ।

सामाजिक विकास समिति हल्दीबारीको आयोजनामा सुरु भएको तालिमले सीमित स्रोत र अवसर भएका व्यक्तिहरूलाई सीपको माध्यमबाट रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ। तालिममा गाउँपालिकाका पाँच वटै वडाबाट २५ जना सहभागी भएका छन्।

कार्यक्रमको उद्घाटन सामाजिक विकास समितिकी संयोजक शान्ता शिवाकोटीको अध्यक्षतामा सम्पन्न भयो। उद्घाटन सत्रमा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, कार्यपालिका सदस्यहरू भगिरथा दाहाल, सुष्मा महरा, रूपा रसाइली, योजना शाखा प्रमुख राजन न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सिकिएको सीपलाई व्यवसायमा रूपान्तरण गरी आत्मनिर्भर बन्नुपर्ने आवश्यकता औँल्याए। “सिप सिकेर घरमै बसेर सीमित हुनुभन्दा बजारमा उत्पादन पुर्‍याउने ढंगले अघि बढ्नुपर्छ,” उनले भने।

प्रमुख प्रशासकीय अधिकृत वनले सहभागीहरूलाई आफैँमा विश्वास राखी अन्य व्यक्तिजस्तै काम गर्न सक्ने आत्मबल विकास गर्न आग्रह गरे। उनले भने, “स्वस्थ सोच र सकारात्मक दृष्टिकोणका साथ सिकाइलाई व्यवहारमा उतार्नुपर्छ।”

सामाजिक विकास समितिकी संयोजक शिवाकोटीले तालिम पहिलोपटक सञ्चालन गरिएको जानकारी दिँदै आगामी दिनमा सहभागीहरूको आवश्यकता र मागअनुसार कार्यक्रम तय गरिने प्रतिबद्धता व्यक्त गरिन्।

तालिममा भगवती नेपाल र लक्ष्मी कोइरालाले प्रशिक्षण दिइरहेका छन्। योजना शाखा प्रमुख राजन न्यौपानेले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले गरेकी थिइन्।

स्थानीय तहमा सञ्चालन भइरहेका यस्ता सीपमूलक कार्यक्रमहरूले लक्षित वर्गको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।