झापा, हल्दीबारी — कृषक उत्पादन वृद्धि र आधुनिक कृषि प्रणालीको प्रवर्द्धन गर्न हल्दीबारी गाउँपालिकाले उन्नत जातका धानको बिउ वितरण कार्य सुरु गरेको छ। कृषक र पालिकाबीच ५०–५० प्रतिशत लागत साझेदारीमा सञ्चालन गरिएको यो कार्यक्रम अन्तर्गत यस वर्ष ९ प्रकारका धानको उन्नत जात वितरण गरिँदैछ।

गाउँपालिकाको कृषि विकास शाखाको संयोजनमा र DESES परियोजनाको सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको हो। बिउ वितरण कार्यलाई प्रभावकारी बनाउन गत जेठ ३ गते बसेको कृषि शाखा बैठकले आवश्यक तयारी तथा निर्णयहरू गरेको थियो।
शुद्धोधन कालानामक, तरहरा–२, बहुगुणी–२, हर्दिनाथ–६, रामधान लगायत ९ प्रकारका उन्नत धान जात कृषकहरूलाई उपलब्ध गराइनेछ।
कृषकहरूबाट प्राप्त माग र आवेदनका आधारमा ४ हजार २० केजी धान बिउ वितरण गरिनेछ। सहभागी हुने कृषकहरूले तोकिएको मूल्यको ५० प्रतिशत मात्र भुक्तानी गर्नुपर्नेछ भने बाँकी ५० प्रतिशत लागत गाउँपालिकाले व्यहोर्नेछ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू र सम्बन्धित निकायहरूसँग समन्वय गरी वितरण कार्यलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
हल्दीबारी गाउँपालिकाले कृषि क्षेत्रलाई समृद्धिको आधार मानेर नीति तथा कार्यक्रमहरू अघि बढाइरहेको छ। उत्पादनशीलता वृद्धिका साथै उन्नत जातको प्रवर्द्धनले दीर्घकालीन रूपमा कृषकहरूको आय आर्जनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।



