२०८२ श्रावण ३ शुक्रबार
२०८२ श्रावण ३ शुक्रबार

साढे २७ करोडको लागत भनिएको पुल गाउँपालिकाले २.३ करोडमै बनायो

झापा, हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाले आन्तरिक स्रोतमा आधारित भौतिक पूर्वाधार विकास अभियान अन्तर्गत भुतेनी खोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गरेको छ। काठे पुल विस्थापित गर्ने उद्देश्यले दुई वर्षअघि थालिएको योजनाअनुसार हालसम्म तीनवटा पक्की पुलमध्ये पहिलो पुल सम्पन्न भई उद्घाटन गरिएको हो।

हल्दिबारी गाउँपालिका वडा नं. ५ र १ जोड्ने भुतेनी खोलामा निर्माण सम्पन्न भएको उक्त पुलको बुधवार एक कार्यक्रमबीच पूर्व उपप्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री एवं झापा ३ बाट प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनले उद्घाटन गरे।

गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनका अनुसार सोही परियोजनाअन्तर्गत भुतेनी खोलामा एउटा र भुसुडी खोलामा दुई वटा गरी जम्मा तीन वटा पुलको शिलान्यास गरिएको थियो। कुल लागत ४ करोड ९६ लाख ८५ हजार ९ सय रुपैयाँमा ती तीनै पुल निर्माणको ठेक्का सम्झौता गरिएको थियो।

अध्यक्ष लिङ्देनले पुल निर्माणको प्रारम्भिक चरणमा देखिएको प्राविधिक चुनौतीको स्मरण गर्दै भने, “२०७४ सालमा सडक विभागको पुल महाशाखाबाट आएको टोलीले भुतेनी खोलामा माटो परीक्षण तथा डीपीआर तयार पारेको थियो। उक्त महाशाखाले एक पुलकै लागत साढे २७ करोड रुपैयाँ अनुमान गरेपछि हामी स्तब्ध भयौं। गाउँपालिकाको सीमित बजेटमा यस्तो पुल सम्भव होला कि नहोला भन्ने अन्योल थियो। तर, अन्ततः हामीले गाउँपालिकाकै स्रोतबाट दुई करोड ३० लाख रुपैयाँमा यो पुल सम्पन्न गर्न सफल भयौं।”

पुल निर्माण कार्य निर्धारित समयभन्दा पाँच महिना अगावै सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिए। उनका अनुसार २०७९ कात्तिक ७ गते ठेक्का सम्झौता गरिएको पुलको लम्बाई ४२.७ मिटर र चौडाई ७.२ मिटर रहेको छ। सारा सृष्टि निर्माण सेवा प्रालिले पुल निर्माणको जिम्मेवारी लिएको थियो।

प्रतिनिधिसभा सदस्य लिङ्देनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “पुलको डीपीआर र लागत इस्टिमेट हेर्दा यो गाउँमा कहिल्यै नबन्नेजस्तो लागेको थियो। तर, गाउँपालिकाले साहस देखाएर यसलाई सम्भव बनायो। यो पुल एउटा सपना साकार भएको प्रतीक हो।”

गाउँपालिकाले हालसम्म ७ वर्षको अवधिमा १५० वटा काठे तथा बाँसे पुल विस्थापित गरी पक्की पुल र कल्भर्ट निर्माण गरिसकेको प्रशासकीय अधिकृत वनले जानकारी दिए। उनका अनुसार बाँकी दुई वटा पुलको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ।

अध्यक्ष लिङ्देनले भने, “हामीले प्रमाणित गरेका छौं—ईमानदार, पारदर्शी र योजनाबद्ध तरिकाले काम गर्दा थोरै बजेटमा पनि प्रभावकारी पूर्वाधार निर्माण गर्न सकिन्छ। अब हल्दिबारी गाउँपालिका काठे पुलमुक्त भएको छ।”

पक्की पुल बनेसँगै न केवल स्थानीय बासिन्दाहरू, तर छिमेकी पालिकाका जनतासमेत यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। गाउँपालिकाले आगामी दिनमा अन्य भौतिक पूर्वाधार विकासलाई समेत निरन्तरता दिने जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।